रौतहट, ३१ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियानअन्तर्गत मंगलबार विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये पाँच जना चेक अनादर मुद्दाका फरार प्रतिवादी हुन् । उनीहरूमा विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र रहेका छन् ।
यस्तै, चोरी तथा डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका लक्ष्मी प्रसाद चौधरीलाई चार फरक मुद्दाको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको २ वर्ष कैद सजाय तथा २७ हजार जरिवाना कार्यान्वयनका लागि मंगलबार नै जिल्ला अदालत रौतहटमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।







प्रतिक्रिया