सिंहदरबार गेटमा न्यायको चित्कार : प्रहरीको बल प्रयोगबीच बिनु यादवको अटुट संघर्ष

झरी र प्रहरीको लाठी सहँदै - सिंहदरबार अगाडि घिसारिइन् घरायसी हिंसा पीडित बिनु यादव

काठमाडौं, ३१ असार । सिंहदरबार गेटमै धर्ना बसेकी एक महिलालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । आफूलाई घरायशी हिंसा पीडित बताउने बिनु यादव तीन दिनदेखि देशको प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा धर्ना दिइरहनुभएको छ ।

गत सोमबार बिनु र अर्की ‘पीडित’ निहारिका राजपूत सिंहदरबार प्रवेश गर्न खोज्दा गेटमा रोकिएका थिए । भित्र जाने पास भएर पनि प्रहरीले रोकेपछि उहाँहरु गेटमै धर्ना बस्नुभयो । राती उहाँहरुलाई प्रहरीले उठाएर हिरासतमा राखेको थियो ।

भोलिपल्ट निहारिकाको सानो बच्चा बिरामी भएपछि अस्पताल उपचारका लागि लगियो र उहाँ त्यहाँबाट घरतिर लाग्नुभयो । बिनु भने सिंहदरबारमै लडिरहनुभएको छ । उहाँलाई राति प्रहरीले उठाएर हिरासत लैजान्छ भने बिहान छाडिदिने गरेको छ । छुटेलगत्तै उहाँ सिंहदरबार गेटमा पुग्ने गर्नुभएको छ ।

आज सिंहदरबार गेटमा एमालेका कार्यकर्ताले पनि प्रदर्शन गरेका थिए । उहाँहरुसँगै बिनुलाई पनि पक्राउ गरेर हिरासतमा लगियो । एमाले कार्यकर्ता हिरासतमै छन् भने फरक विषय भएकाले बिनुलाई तुरुन्तै छोडिएको थियो । हिजो एमाले नेता महेश बस्नेतले आफ्नो पक्षमा स्टाटस लेखेपछि प्रहरीले आफूलाई थप कडाइ गरेको बिनुको दावी छ ।

बिनु र निहारिका दुवैले प्रहरीबाटै अन्यायमा परेको भन्दै निवेदन लिएर गृह मन्त्रालय जान खोजेका थिए । गृहमन्त्री सुधन गुरुङलाई नै भेटेर गुनासो सुनाउने उहाँहरुको प्रयास छ । तर, भित्रबाट रोक्ने आदेश आएपछि पास भए पनि उहाँहरु छिर्न पाउनुभएन ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १४ : १४  बजे