काठमाडौं, ३० असार । मिस सुप्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड प्रस्थान गर्नुभएको छ। उहाँ जुलाई १३ मा पोल्याण्डको क्राकाउ पुग्नुभएको हो भने प्रतियोगिताको भव्य फाइनल जुलाई ३१ मा मालोपोल्स्का क्षेत्रमा आयोजना हुनेछ।

कानुन विषयमा स्नातक पूर्णिमा कार्की सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुभएको हो।
प्रतियोगिताका क्रममा उहाँले राष्ट्रिय पोशाक प्रदर्शन, सुप्रा च्याट, प्रारम्भिक मूल्याङ्कन तथा विभिन्न प्रतिस्पर्धात्मक चरणमा सहभागी हुँदै नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। उहाँमार्फत नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रस्थानअघि पूर्णिमा कार्कीले विश्वमञ्चमा नेपालको झण्डा बोकेर उभिन पाउनु आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारी भएको बताउँदै यो यात्रा व्यक्तिगत उपलब्धिभन्दा सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच, मिस सुप्रानेशनल नेपालका नेशनल डाइरेक्टर तथा सानुर्भी इन्टरनेशनल प्रा.लि.का अध्यक्ष डा. सन्तोष उपाध्यायले यस वर्ष नेपालले प्रतियोगिताको इतिहासमै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पूर्णिमा कार्कीमा मिस सुप्रानेशनलले खोज्ने व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता र सामाजिक उत्तरदायित्वका सबै गुण विद्यमान छन्।
डा. उपाध्याय स्वयं मिस्टर सुप्रानेशनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्दै थर्ड रनर–अप बन्न सफल हुनुभएको थियो। उहाँले आफ्नो अन्तर्राष्ट्रिय अनुभवका आधारमा पूर्णिमा कार्कीको तयारी, प्रशिक्षण तथा सम्पूर्ण अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरिरहनुभएको छ।
विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को फाइनल जुलाई ३१ मा पोल्याण्डमा आयोजना हुनेछ। प्रतियोगितामा विश्वभरका प्रतिस्पर्धीहरूले व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक प्रभाव, संस्कृति र आत्मविश्वासका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले यसअघि मिस्टर सुप्रानेशनलमा ऐतिहासिक सफलता हासिल गरिसकेको अवस्थामा यस वर्ष पूर्णिमा कार्कीले पनि नेपालको नाम विश्वमञ्चमा थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया