काठमाडौं, २९ असार । नेपालमा उपभोक्ता मूल्यवृद्धि पुनः उकालो लाग्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति (मूल्यवृद्धि) ५.२२ प्रतिशत पुगेको छ।
यो दर गत आर्थिक वर्षको सोही अवधिको २.७२ प्रतिशत को तुलनामा २.५ प्रतिशत बिन्दुले बढी हो। पछिल्ला महिनाहरूमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दै जाँदा उपभोक्तामाथि थप आर्थिक भार परेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.३७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको जेठमा यी समूहमा क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत मात्र मूल्यवृद्धि भएको थियो।
खाद्य समूहअन्तर्गत फलफूलको मूल्य १७.४० प्रतिशत, घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत तथा तरकारी ४.१४ प्रतिशत ले बढेको राष्ट्र बैंकले जनाएको छ। यद्यपि, दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको छ।
त्यसैगरी गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशत ले महँगा भएका छन्।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत मूल्यवृद्धिदर भने २.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ४.२४ प्रतिशत को तुलनामा कम हो।








प्रतिक्रिया