संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं, २६ असार । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा भइरहेको आलोचनाप्रति गृहमन्त्री सुधन गुरुङले कडा आपत्ति जनाउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले आफूले गरेको कामलाई ‘स्टन्टबाजी’ भनी टिप्पणी गर्ने सांसदहरूप्रति लक्षित गर्दै खरो जवाफ फर्काउनुभएको हो । संसदमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो,‘हिजो जब गणेश नेपालीको निधन भयो, त्यसपछि घाँटी चिच्याएर यहाँ प्रश्न उठाउनेहरूमध्ये कति जना हस्पिटल पुग्नुभएको थियो ? म यो सम्मानित सदनलाई सोध्न चाहन्छु ।’

उहाँले जनताको सेवा गर्ने नाममा मुखले मात्रै ठूला कुरा गर्ने परम्परा अब अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । ‘जनताको सेवा गर्छु भनेर मुखले बोलेको ५० औं वर्ष भइसक्यो। अब मुखले होइन, हातले काम गर्नुपर्छ। काम गर्ने ठाउँमा नै पुग्नुपर्छ,’ गृहमन्त्री गुरुङले भन्नुभयो । केही सांसदहरूले आफ्नो सक्रियतालाई ‘स्टन्टबाजी’ को संज्ञा दिएकोमा असन्तुष्टि जनाउँदै उहाँले स्पष्ट पार्दै भन्नुभयो,‘मलाई कसैको नजरमा स्टन्टबाजी गर्न कुनै रहर छैन । म यो देश र जनताको सेवा गर्नका लागि मन्त्री बनेको हुँ ।’

उहाँले गृह प्रशासनलाई कसरी थप जनमुखी बनाउने भन्ने विषयमा आफू र आफ्नो टिम निरन्तर छलफलमा जुटेको बताउनुभयो । उहाँले सो घटनामा आफूले बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेको भए पनि दुर्भाग्यवश बचाउन नसकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

गणेश नेपालीको मृत्यु र सो प्रकरणमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सदनमा चर्को आलोचना गरेपछि गृहमन्त्री गुरुङ रक्षात्मक र केही भावुक देखिनुभएको थियो । आफ्नो भनाइ राख्ने क्रममा केही बेर भावुक बन्नुभएको उहाँले पुनः सम्हालिँदै सरकारको बचाउ गर्नुभयो । उहाँले यस्ता संवेदनशील घटनामा राजनीति नगर्न र रचनात्मक आलोचना गर्न आग्रह गर्दै आफ्नो कार्यशैली परिणाममुखी हुने दाबी गर्नुभयो ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १६ : ३४  बजे