मोतिहारी प्रहरीको ठूलो एक्सन : एक महिनामा २ हजारभन्दा बढी अपराधी पक्राउ

रौतहट २६ असार । भारत बिहारको पूर्वी चम्पारण (मोतिहारी) मा प्रहरीको कडा कारबाहीपछि अपराधीहरूमा त्रास फैलिएको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा जुन महिनाभर सञ्चालन गरिएको विशेष अभियानमा २ हजार ३६ जना अपराधी पक्राउ परेका छन् भने प्रहरीको बढ्दो दबाबका कारण २ हजार ४०८ जना अभियुक्तले स्वेच्छाले अदालतमा आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोतिहारीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी स्वर्ण प्रभातले अभियानको उपलब्धि सार्वजनिक गर्दै निरन्तर भइरहेको कारबाहीका कारण जेलमा कैदी राख्ने ठाउँसमेत अभाव हुन थालेको बताए। पक्राउ परेकामध्ये १ हजार ३४९ जनालाई न्यायिक हिरासतमा जेल पठाइएको छ भने ११ जना इनामी अपराधी पनि पक्राउ परेका छन् ।

बिहारमा पूर्ण मदिराबन्दी लागू भए पनि अवैध मदिरा तस्करी चुनौतीकै रूपमा रहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले जुन महिनाभर व्यापक अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा २० लाख ३६ हजार १२७ लिटर अवैध मदिरा बरामद गरिएको छ ।

मदिरा तस्करीमा संलग्न २३७ जनालाई पक्राउ गरिएको छ भने मदिरा सेवन गरेको आरोपमा ३६२ जनामाथि पनि कारबाही गरिएको छ । यस अभियानको विशेष उपलब्धिका रूपमा एक वर्षदेखि फरार रहेका मुख्य मदिरा कारोबारी दीपक कुमारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधविरुद्ध पनि कडा अभियान

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ५४९ किलोग्राम गाँजा, १२ किलोग्राम अफिम र ५७ किलोग्राम डोडा (अफिमको दाना) बरामद गरेको जनाएको छ । सघन सवारी चेकजाँचका क्रममा ७ हजार ७२९ वटा सवारीसाधनमाथि कारबाही गर्दै १ करोड १० लाख भारतीय रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।

साइबर अपराध नियन्त्रणतर्फ प्रहरीले पीडितहरूको ७५ लाख ९२ हजार भारतीय रुपैयाँ फ्रिज गराउन सफल भएको छ। ‘अपरेशन मुस्कान’ अन्तर्गत ३२ वटा हराएका मोबाइल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने १०९ जना हराएका वा अपहृत व्यक्तिलाई सकुशल उद्धार गरिएको छ ।

साथै ९१ वटा मोटरसाइकल र १४ वटा चारपाङ्ग्रे सवारीसाधन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । एसपी स्वर्ण प्रभातले अपराध नियन्त्रणसँगै प्रहरी संगठनभित्र हुने भ्रष्टाचारविरुद्ध पनि अभियान जारी रहेको बताउनुभयो ।

उहाँका अनुसार भ्रष्टाचारमा संलग्न दर्जनौँ प्रहरी अधिकारी र चौकीदारलाई पनि कारबाहीको दायरामा ल्याइएको छ । मोतिहारी प्रहरीको जुन महिनाको तथ्यांकले अपराध नियन्त्रणमा आक्रामक रणनीति अपनाइएको देखाउँछ। ठूलो संख्यामा अपराधीले स्वेच्छाले आत्मसमर्पण गर्नु प्रहरीको बढ्दो दबाब र सक्रियताको संकेत मानिएको छ ।

तर अर्कोतर्फ यति ठूलो परिमाणमा अवैध मदिरा र लागूऔषध बरामद हुनु भने बिहारमा मदिराबन्दी लागू भए पनि तस्करी र लागूऔषध कारोबार अझै गम्भीर चुनौतीका रूपमा रहेको स्पष्ट संकेत हो । आगामी दिनमा प्रहरीले यो अभियानलाई कत्तिको प्रभावकारी रूपमा निरन्तरता दिन सक्छ भन्ने विषय महत्वपूर्ण रहनेछ ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १५ : ५२  बजे