टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित पूर्वअधिकारी दोषी ठहर

काठमाडौं, २२ असार । विशेष अदालतले बहुचर्चित टेरामक्स खरिद प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित केही पूर्वअधिकारीलाई दोषी ठहर गरेको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलाअनुसार पूर्वसचिव धनराज ज्ञवाली, तत्कालीन अध्यक्ष दिगम्बर झालगायतलाई भ्रष्टाचारसम्बन्धी कसुरमा दोषी ठहर गरिएको हो।

अदालतले दोषी ठहर भएका व्यक्तिलाई ६ महिना कैद र जनही ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। दिगम्बर झालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेको अवस्थालाई आधार मान्दै थप ६ महिना कैद सजाय पनि तोकिएको छ।

विशेष अदालतले यस प्रकरणमा बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकाल्दै जरिवाना र कैद सजाय मात्रै निर्धारण गरेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै २०८२ जेठ १ गते मोहनबहादुर बस्नेतसहित विभिन्न पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोमबारको फैसलासँगै बस्नेतले आरोपबाट सफाइ पाएका छन् भने अन्य केही प्रतिवादी दोषी ठहर भएका छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  २० : ४६  बजे