निर्वाचन आयोगमा नयाँ नेतृत्वको सिफारिस, प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की प्रस्तावित

काठमाडौं, १९ असार । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त तथा दुई आयुक्त पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त, तथा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदमा सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस गरिएका पदाधिकारीहरूको नियुक्ति भने संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि हुने व्यवस्था छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूबारे पर्याप्त छलफल नगरी सिधै सिफारिस गरिएको भन्दै असहमति जनाउनुभएको थियो।

संवैधानिक परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ समितिले प्रस्तावित उम्मेदवारहरूको योग्यता र उपयुक्तताबारे सुनुवाइ गर्नेछ। त्यसपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार  २० : ३६  बजे