ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचन: उपाध्यक्ष पदमा युवा व्यवसायी रमेश थापाको दाबेदारी

काठमाडौं, १८ असार । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटन क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

परिषद्को आगामी असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको नयाँबजारस्थित नयाँबजार मल्टि भेन्युमा आयोजना हुने ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।

लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय रहँदै आउनुभएका थापाले ठमेललाई अझ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको छ।

ठमेलको सुरक्षा व्यवस्थाप्रति निरन्तर चासो राख्दै आउनुभएका थापाले यसअघि पनि सुरक्षा सुदृढीकरणका लागि विभिन्न पहल गर्नुभएको थियो। उहाँकै सक्रियतामा ठमेलको मुख्य केन्द्र मानिने सञ्चयकोष अगाडि सुरक्षागार्डको व्यवस्था गरिएको थियो, जसले त्यस क्षेत्रको सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सकारात्मक सहयोग पुर्‍याएको बताइन्छ।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न तथा युवा व्यवसायीहरूको आवाज नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको थापाले बताउनुभयो।

सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका थापाले २०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री तथा आवश्यक राहत सहयोग उपलब्ध गराउनुभएको थियो। यस्तै, कोभिड–१९ महामारीको कठिन समयमा पनि सिन्धुपाल्चोकका विद्यालय तथा स्थानीय समुदायलाई स्वास्थ्य सामग्री, राहत तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न, व्यवसायीहरूबीच सहकार्य बढाउन तथा युवा व्यवसायीहरूको आवाज नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको थापाले बताउनुभयो।

“ठमेल नेपालको पर्यटनको मुटु हो। यस क्षेत्रका रैथाने घरधनी, पुराना तथा नयाँ व्यवसायी, साथै यहाँ आउने आन्तरिक र बाह्य पर्यटक सबैको हितमा काम गर्ने दृढ प्रतिबद्धतासहित मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो।

परिषद्को सचिवालयका अनुसार वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा भावी कार्यक्रममाथि छलफल गरिनुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ।

सामाजिक तथा व्यावसायिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका थापाको उम्मेदवारीलाई ठमेलका व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। पर्यटन व्यवसायको पुनरुत्थान, व्यवसायीबीच सहकार्य अभिवृद्धि तथा ठमेलको अन्तर्राष्ट्रिय छविलाई अझ सुदृढ बनाउन उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुहुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  २० : १२  बजे