महान्यायाधिवक्ता कँडेलको बेलायत आवतजावतको विवरण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, १६ असार । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल–बेलायत आवतजावतसम्बन्धी १२ वर्षको प्रमाणित अभिलेख पेस गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कँडेलको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइका क्रममा सन् २०१५ देखि २०२४ सम्म नेपाल र बेलायत आउजाउ गरेको सम्पूर्ण प्रमाणित विवरण झिकाउन आदेश दिएको हो।

सर्वोच्चले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने सम्बन्धमा गत चैत २२ गते प्रधानमन्त्रीबाट भएको निर्णयको अभिलेखसमेत पेस गर्न आदेश दिएको छ।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिको योग्यता र प्रक्रियामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा अदालतले थप तथ्य र अभिलेख आवश्यक ठहर गर्दै सम्बन्धित कागजात झिकाउने आदेश दिएको हो।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  २० : ४१  बजे