वामपन्थी ध्रुवीकरणको कसरत: पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा देखिँदै

काठमाडौं, १२ असार । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक माधव नेपाल एउटै मञ्चमा देखिनुहुने भएको छ । जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा ओली र प्रचण्ड मात्रै नभई नेकपाका सहसंयोजक माधव नेपाल पनि सहभागी हुनुहुने भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या भण्डारी रहने बताइएको छ । असार १४ मा हुने कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो १ः३० बजे सुरु हुने जनाइएको छ । सो कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने तय भएको छ ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि कम्युनिस्ट एकताको चर्चा चलिरहेको बेलामा शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लाग्नुभएको हो । पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा एमाले र नेकपाबीच एकताको बहस समेत चलिरहेको छ ।

यसअघि विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने तयारी भइरहेको बताउनुभएको थियो ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १७ : ५१  बजे