काठमाडौं, १० असार । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
विद्यार्थीहरूको आरोप अनुसार छिटो नतिजा सार्वजनिक गर्ने क्रममा मूल्याङ्कनमा त्रुटि भएको छ, जसका कारण धेरै विद्यार्थीले अपेक्षाभन्दा फरक नतिजा प्राप्त गरेका छन्। केही विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्या भएको उनीहरूको भनाइ छ।
आन्दोलनका संयोजक रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्नुभयो। उहाँले मूल्याङ्कन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो।
आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको छ। साथै कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीसँग आवश्यक समन्वय गरिएको जनाइएको छ।
विद्यार्थीहरूले निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण, निष्पक्ष छानबिन तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौं विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्।







प्रतिक्रिया