छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

काठमाडौं, २९ असार । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन् ।कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । डीएसपी बोहराका अनुसार शुक्रबार राति साढे १२ बजेतिर कमलालाई सुतिरहेकै अवस्थामा बाँया गालामा सर्पले डसेको थियो । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताउनुभयो। उहाँलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताउनुभयो ।कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिनुभयो । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताउनुभयो ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  ०८ : ४८  बजे