काठमाडौं, १० असार । विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकाल्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा पार्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको छैटौँ र ३९औँ मिनेटमा गोल गरे । यससँगै रोनाल्डो विश्वकपका सबै ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोल, तथा राफाएल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाए ।यससँगै रोनाल्डोको विश्वकप गोल सङ्ख्या १० पुगेको छ, जसले उनलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।
त्यस्तै, समूह ‘एल’ अन्तर्गत इंग्ल्यान्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ७९ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।
दुई खेलबाट चार अङ्क जोडेको इंग्ल्यान्ड नकआउट चरण नजिक पुगेको छ । यसैबीच, अहिले क्यानडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसियाबीचको खेल चलिरहेको छ । आजै बिहान पौने ८ बजे मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा डीआर कंगो र कोलम्बियाले खेल्नेछन् ।







प्रतिक्रिया