आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृहजिल्लामा

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार गृह जिल्ला झापा पुग्नुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ झापा पुग्नुभएको हो । आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन तथा कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यक्रम छ । असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार  १४ : १९  बजे