काठमाडौं, ३ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको कार्यशैलीमाथि संसद्मा गम्भीर प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको प्रश्नोत्तर सेसनका क्रममा बोल्दै साम्पाङले सरकारको काम गुनासो गर्ने नभई जनतालाई समाधान दिने भएको स्मरण गराउनुभयो ।
संसद् बैठकमा बोल्दै सांसद साम्पाङले मन्त्री पुनलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘मन्त्रीज्यूले निकै लामो फेरहिस्त सुनाउनुभयो । तर सरकारमा बसेर गुनासो मात्र गरिरहने होइन । मन्त्रीज्यू आफैँ सत्तापक्ष हो कि प्रतिपक्ष हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्छ । यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर संसद्मा लामो गीत सुनाएर पन्छिन मिल्दैन ।’
उहाँले मन्त्री पुनलाई संसद्को समय सीमाप्रति संवेदनशील हुन समेत सचेत गराउनुभयो । मन्त्री पुनले सदनमा जवाफ दिने क्रममा एक घण्टाभन्दा बढी समय लिनुभएको थियो । जसमा साम्पाङले आपत्ति जनाउनुभएको हो । उता साम्पाङको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कानुन नबनेको भएकाले आफूले सत्य कुरा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कानुन नै छैन, खल्तीको पैसाले चलाउँदैछु ।’ मन्त्री पुनले देशको विद्यमान कानुनी शून्यताका कारण आफूले यथार्थ ओकलेको दाबी गर्नुभयो । पुनले भन्नुभयो,‘उहाँले मलाई गुनासो नगर्न भन्नुभयो । तर देशमा सम्बन्धित कानुन नै बनेको छैन । अहिलेसम्मको अवस्था शून्य (जिरो) छ । कानुन नै नबनेपछि मैले सत्य कुरा नगरेर के गर्ने ?’
मन्त्री पुनले मन्त्रालयको दयनीय अवस्थाबारे थप स्पष्ट पार्दै अहिले सामान्य दुई/चार सय रुपैयाँ खर्च गर्नुपर्दा वा मन्त्रालयका लागि केही सामान किन्नुपर्दा समेत आफ्नै खल्तीको पैसा प्रयोग गर्नुपर्ने बाध्यता रहेको खुलासा गर्नुभयो ।







प्रतिक्रिया