नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं, असार । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन द्वारा विभिन्न समयमा गरिएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयले २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ।

समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न कार्यादेश दिइएको छ।

छानबिनको दायरामा ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी विषयहरू समेटिएका छन्।

मन्त्रालयका अनुसार यी खरिद प्रक्रियाबारे विभिन्न निकायमा उजुरी तथा गुनासोहरू परेकाले आन्तरिक अध्ययनका लागि समिति गठन गरिएको हो।

नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका क्रममा भएका खरिद प्रक्रियाको पारदर्शिता र कानुनी प्रक्रियाको पालना सम्बन्धमा प्रश्न उठ्दै आएका छन्।

यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन गरिसकेको थियो।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १३ : २४  बजे