इटली र नेदरल्यान्ड्स टी–२० विश्वकप २०२६ का लागि छनोट

काठमाडौं, २८ असार । युरोपेली छनोटको अन्तिम दिन इटली र नेदरल्यान्ड्स दुवै टोली भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएका छन् ।

नेदरल्यान्ड्ससँग ९ विकेटले पराजित भए पनि रनरेटमा जर्सीलाई पछि पारेर इटलीले इतिहास रच्दै पहिलो पटक टी–२० विश्वकपमा ठाउँ बनाएको हो ।

समूहका सबै चार टोलीको छनोट सम्भावना रहेको अन्तिम दिन इटलीले आफ्नो इनिङ्समा २० ओभोरमा ७ विकेट गुमाउँदै १३४ रन बनायो ।

१३५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६ ओभर २ बल खेल्दा २२ बल बाँकी छँदै १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जर्सीले स्कटल्यान्डलाई हराउँदै ऐतिहासिक जीत निकाले पनि रनरेटमा पछि पर्दा छनोटबाट बाहिरिएको छ । यससँगै अहिलेसम्म १५ टोली टी–२० विश्वकप २०२६ का लागि छनोट भइसकेका छन् ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार  १० : ३२  बजे