विपक्षीको दबाबपछि मन्त्रीहरूको उपस्थिति, प्रतिनिधि सभा बैठक पुनः सञ्चालन

काठमाडौं, २ असार । प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित भएपछि अवरुद्ध भएको बैठक पुनः सञ्चालन भएको छ ।

बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले आपत्ति जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

बैठक पुनः सुरु हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सदनमा उपस्थित हुनुभएको छ ।

आठ मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला केवल ६ जना मन्त्री मात्र उपस्थित भएको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाउनुभएको थियो ।

मन्त्रीहरूको अनुपस्थितिले संसदप्रतिको उत्तरदायित्व कमजोर हुने भन्दै विपक्षीले आपत्ति जनाएको थियो । सभामुखले बाँकी मन्त्रीहरू पनि सदनतर्फ आउने क्रममा रहेको जानकारी गराएपछि बैठकलाई निरन्तरता दिइएको हो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : ०८  बजे