काठमाडौं, २ असार । गुडिरहेको कारको झ्यालबाट आधा शरीर बाहिर निकालेर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराई विवादमा तानिनुभएको छ ।
सडक सुरक्षाको नियम विपरीत यात्रा गरेको भन्दै आलोचना बढेपछि सांसद भट्टराईले आज सामाजिक सञ्जालमार्फत आफ्नो प्रष्टीकरण दिनुभएको छ । सांसद भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी र सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको भएको दाबी गर्नुभएको छ ।
आफू चालक नभई यात्रुको रूपमा रहेको बेला एउटा सामान्य निजी क्षणलाई रमाइलोका रूपमा मात्र कैद गरिएको उहाँको भनाइ छ । उमेर र उत्साहका कारण विगतमा गरिएका यस्ता व्यवहार वा एउटा छोटो भिडियोका आधारमा आफ्नो चरित्र र सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन नगर्न उहाँले अनुरोध गर्नुभएको छ ।
साथै विगतको अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने र नागरिकहरूलाई पनि ट्राफिक नियमको पूर्ण पालना गर्न उहाँले आग्रह गर्नुभएको छ । यता, सार्वजनिक सडकमा यसरी गुडिरहेको गाडीबाट शरीर बाहिर निकाल्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत हुने भन्दै सामाजिक सञ्जालमा उहाँमाथि कानुनी कारबाहीको माग चर्किएको छ ।
यसअघि सडक सुरक्षा उल्लंघनको प्रसंगमा हर्क साम्पाङलाई ट्राफिक प्रहरीले जरिवाना गराएको नजिर उल्लेख गर्दै भट्टराईलाई पनि कारबाही हुनुपर्ने आवाज उठेको छ । यस विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यक आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।







प्रतिक्रिया