कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, कृषि र पूर्वाधारमा विशेष प्राथमिकता

काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो।

सरकारले चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गर्दै बजेट प्रस्तुत गरेको जनाएको छ। चालु आर्थिक वर्षमा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याइएको थियो।

कूल बजेटमध्ये पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार (५८.३८ प्रतिशत), चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

पूर्वाधार विकासतर्फ रणनीतिक सडक, झोलुङ्गे पुल निर्माण, एकीकृत प्रशासनिक भवन, स्मार्ट सिटी विकास तथा पुनर्निर्माण योजनालाई विशेष प्राथमिकता दिइएको छ। प्रदेश गौरवका आयोजना र ठूला पूर्वाधारमा समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। क्यान्सर, मुटु, मिर्गौला तथा जटिल रोगका बिरामीलाई उपचार सहायता कार्यक्रमलाई निरन्तरता दिइएको छ।

शिक्षा क्षेत्रमा डिजिटल शिक्षण, शिक्षक व्यवस्थापन तथा प्राविधिक शिक्षालाई विस्तार गर्ने कार्यक्रम समावेश गरिएको छ।

कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायीकरण, ‘एक गाउँ एक फलफूल बगैँचा’, हिमाली क्षेत्रमा भेडा–च्याङ्ग्रा पालन तथा कृषि यान्त्रीकरणलाई प्राथमिकता दिइएको छ।

त्यस्तै खानेपानी, सिँचाइ, ऊर्जा, विमानस्थल विस्तार, जलविद्युतमा प्रदेशको सेयर लगानी तथा आन्तरिक हवाई सेवा विस्तारलाई पनि बजेटमा समेटिएको छ।

सरकारले पूर्वाधार विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  २० : ४५  बजे