एमालेभित्र मतभेद नरहेको महासचिव पोखरेलको दाबी

काठमाडौं, असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै मत–मतान्तर नरहेको दाबी गर्नुभएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि कार्यदल गठन भइसकेको र उक्त कार्यदलले सुझाव संकलनको काम गरिरहेको जानकारी दिनुभयो। कार्यदलको सुझावका आधारमा पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ थियो।

पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउन शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गरिरहेको बताउनुभयो।

महासचिव पोखरेलले पार्टी पुनर्गठनसम्बन्धी निर्णय औपचारिक र संस्थागत भएकाले कार्यदलको निष्कर्ष नआउँदै एमालेभित्र विवाद वा समस्या रहेको प्रचार गर्नु उचित नहुने धारणा राख्नुभयो। कार्यदलको प्रतिवेदनपछि पार्टी अझ बलियो, एकताबद्ध र जनतासँगको सम्बन्ध थप सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

उहाँले सरकार अविच्छिन्न उत्तराधिकारको संस्था भएको मान्यतालाई कमजोर पार्ने गरी अघिल्लो सरकारले गरेका कामबाट पूर्णतः अलग भएर नयाँ यात्रा सुरु गर्ने सोच संसदीय प्रणालीको मूल मर्मविपरीत रहेको पनि बताउनुभयो।

महासचिव पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने विषयमा कुनै असहमति नरहेको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास भने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १७ : ५८  बजे