काठमाडौं, १ असार। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार बसेको नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ वटा प्रमुख क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको थियो।
महानगरले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गर्दा काठमाडौंको ऐतिहासिक, सांस्कृतिक तथा आधुनिक सहरी विकासलाई आधार बनाएको जनाएको छ। नीति तथा कार्यक्रममा सुशासन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, पूर्वाधार विकास, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
नगरसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै कार्यवाहक प्रमुख डंगोलले यसको कार्यान्वयनका लागि आवश्यक बजेट असार ४ गते प्रस्तुत गरिने जानकारी दिनुभयो।
महानगरपालिकाले आगामी आर्थिक वर्षमा सेवा प्रवाह सुधार, सहरी व्यवस्थापन सुदृढीकरण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।








प्रतिक्रिया