काठमाडौं, १ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्री स्वयंले उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग पुनः दोहोर्याउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले सभामुखले चाँडै विवादित अभिव्यक्ति हटाउने आदेश दिने अपेक्षा रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने माग यथावत् रहेको बताउनुभयो । सुस्ता क्षेत्रमा एसएसबीले नेपाली नागरिकमाथि धाकधम्की दिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका युवाहरूलाई पक्राउ गरेर झूटा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विद्यार्थीहरूका मोबाइल फोन खोसेर पानीमा डुबाइएको घटनाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । यस्तो कार्य गर्न आदेश दिने व्यक्तिलाई कारबाहीको माग गर्नुभयो । ट्याम्पो पल्टाइदिएको, प्रहरीद्वारा घरको छानामा ढुङ्गा हानिएकालगायतको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो,‘अचम्म लाग्छ हिजोआज प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ । तर, अहिले त केही खोस्छ कि, अब के गर्छ कि भन्ने वातावरण भइराखेको छ । गृहमन्त्री पनि यहाँ हुँदा ध्यानाकर्षण गराउन चाहेँ ।’








प्रतिक्रिया