जिम्मेवार प्रतिपक्ष भएर सदन चल्न दिएका हौं, मुद्दा छाडेका छैनौं : ऐन महर

अर्थमन्त्रीमाथि छानबिन समिति बनाउनैपर्छ

काठमाडौं, २८ जेठ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकार जिम्मेवार नहुँदा सदन चलाउनको लागि आफूहरूले विरोधको शैली परिवर्तन गरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्ष बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी यो व्यवस्थाका निर्माता हौँ। हामी यहाँ उपभोक्ता बन्न आएका होइनौँ। यो व्यवस्थाको मर्यादा, सुदृढीकरण गर्न हामी बढी जिम्मेवार बन्नुपर्छ। सरकार त जिम्मेवार छँदै छैन। त्यसैले सँगसँगै हामीले हाम्रो मुद्दालाई ज्युँका त्युँ राखेर सदनको प्रक्रियामा सहभागी भएका हौँ ।’

उहाँले आफूहरूले मुद्दा नछाडेको बताउनुभयो । उहाँले थप्नुभयो,‘हामी यो मुद्दा प्रत्येक दिन उठाइरहन्छौँ र आवश्यक पर्‍यो भने हामी थप अरू कदम पनि चाल्छौँ। हामी छलफलकै क्रममा छौं । यो सामान्य विषय होइन । एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्रीले आफ्नो देशले अरू कुनै देशको सीमा मिचेको छ भन्ने अभिव्यक्ति सामान्य होइन ।’

उहाँले आफूहरूले विरोधका लागि विरोध नगरेको बताउनुभयो । उहाँले अर्थमन्त्रीमाथि पनि छानबिन गर्नको लागि संसदीय छानबिन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  १७ : ०३  बजे