काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकाका विभिन्न निजी कलेजहरूले शैक्षिक शुल्कको नाममा विद्यार्थी र अभिभावकबाट अत्यधिक रकम असुलिरहेको भन्दै व्यापक गुनासो बढ्न थालेको छ । भर्ना शुल्क, प्रयोगशाला शुल्क, परियोजना शुल्क, यातायात शुल्क र विभिन्न शीर्षकमा अतिरिक्त रकम उठाइँदा उच्च शिक्षामा पहुँच नै महँगो बन्दै गएको विद्यार्थीहरूको आरोप छ ।
विद्यार्थी संगठनहरूले केही कलेजहरूले सार्वजनिक गरेको शुल्कभन्दा फरक रकम माग्ने, अनिवार्य सेवाका नाममा अतिरिक्त शुल्क जोड्ने तथा स्पष्ट हिसाब नदिने गरेको बताएका छन् । विगतमा पनि अतिरिक्त शुल्क असुलेको आरोपमा विभिन्न शैक्षिक संस्थाविरुद्ध आन्दोलन र छानबिन भएको थियो ।
‘भर्ना हुँदा एउटा शुल्क भनिन्छ, पछि विभिन्न शीर्षक थपेर रकम बढाइन्छ,’ एक विद्यार्थीले गुनासो गर्नुभयो । अभिभावकहरूका अनुसार महँगी बढिरहेको अवस्थामा कलेजहरूको शुल्क नीतिले थप आर्थिक बोझ सिर्जना गरेको छ ।
उहाँका अनुसार यो नयाँ सरकारले विद्यार्थीलाई एकपटक भर्ना गरिसकेपछि अर्को वर्षदेखि भर्ना फि नलाग्ने निःशुल्क भनिएपनि कलेजले भने सरकारले नै कर थुपारेको हुनाले रकम लिनुपरेको हो । शिक्षा अधिकारकर्मीहरू पारदर्शी शुल्क प्रणाली, नियमित अनुगमन र विद्यार्थीमैत्री नीति आवश्यक रहेको बताउँनुहुन्छ । उहाँहरूका अनुसार शुल्क निर्धारणको स्पष्ट मापदण्ड नहुँदा विद्यार्थीहरू शोषणमा पर्ने जोखिम बढेको छ ।
यता कलेज सञ्चालकहरू भने गुणस्तरीय शिक्षा, पूर्वाधार विकास र दक्ष जनशक्ति व्यवस्थापनका कारण सञ्चालन खर्च बढेकाले शुल्क समायोजन गर्नुपरेको दाबी गर्छन् । तर विद्यार्थी पक्षले खर्चको विवरण सार्वजनिक गर्न माग गरेको हो । केही कलेजहरूमा शुल्क वृद्धिविरुद्ध आन्दोलन र विरोध कार्यक्रमसमेत भएका घटनाहरू बेलाबखत सार्वजनिक भइरहेको छ ।
विद्यार्थी संगठनहरूले सम्बन्धित निकायलाई तत्काल अनुगमन गर्न, गैरकानुनी शुल्क फिर्ता गराउन र दोषी संस्थामाथि कारबाही गर्न माग गर्दै आएका छन् । शिक्षा क्षेत्रलाई सेवा भन्दा व्यापारको माध्यम बनाइएको आरोपबीच सरोकारवालाहरूले प्रभावकारी नियमनको आवश्यकता औँल्याएका छन् ।








प्रतिक्रिया