यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

काठमाडौं, २७ जेठ । देशका केही भूभागमा तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा केही ठाउँमा भने तातो दिन हुने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  ०७ : ३९  बजे