काठमाडौं, २६ जेठ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गर्दै संसदको गतिरोध अन्त्यका लागि उहाँले माफी माग्नुपर्ने अडान राखेका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिनु राष्ट्रहित विपरीत रहेको बताउनुभयो।
उहाँले उक्त अभिव्यक्तिले समग्र नेपालीको शिर निहुरिएको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रहार भएको ठहर गर्दै प्रधानमन्त्रीले तत्काल उक्त भनाइ फिर्ता लिनुपर्ने, देशवासीसँग माफी माग्नुपर्ने तथा संसदको अभिलेखबाट हटाउनुपर्ने माग राखिएको जानकारी दिनुभयो।
बैठकमा संसदको वर्तमान गतिरोध, सरकारको भूमिका र आगामी बजेट तथा आर्थिक विधेयकका विषयमा पनि छलफल भएको थियो। विपक्षी दलहरूले सदन सञ्चालनमा सरकार पर्याप्त जिम्मेवार नदेखिएको निष्कर्ष निकालेका छन्।
यद्यपि, विपक्षी दलहरूले संवादका लागि ढोका खुला राखेका छन्। सभामुखको आह्वानमा बसेका सर्वदलीय तथा सर्वपक्षीय छलफलमा आफूहरू सहभागी हुन तयार रहेको उनीहरूले बताएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएमा र सरकार जिम्मेवार बनेमा संसदको गतिरोध अन्त्य हुने संकेतसमेत दिएका छन्।








प्रतिक्रिया