बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं, २४ जेठ । साफ महिला च्याम्पियनसिप–२०२६ को उपाधि घरेलु टोली भारतले जितेको छ ।

गोवाको जवहरलाल नेहरु रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै भारतले साफ महिला प्रतियोगितामा छैटौँ पटक उपाधि जित्न सफल भयो ।

भारतको जीतमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बङ्गलादेशका लागि रितु पोर्ना चक्माले एक गोल गरिन । सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको थियो भने भारतले भुटानलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

पछिल्ला दुई संस्करण सन् २०२२ र २०२४ मा च्याम्पियन बनेको बङ्गलादेश यस पटक उपविजेता बन्यो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  ०६ : ४४  बजे