काठमाडौं, २२ जेठ । अभिनेता राजेश हमालले भारतसँग नेपालको सीमा विवाद र प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ । राष्ट्रिय नेतृत्वमा दूरदृष्टिको अभाव हुँदा संकट निम्तिने उहाँको चेतावनी छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई ईंकित गर्दै हमालले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको हो ।
उहाँले राज्य प्रायोजित भू अतिक्रमण र सीमापार अतिक्रमणको फरक बुझ्नुपर्ने बताउनुभयो । यी दुई विषयलाई प्रायः एउटै अर्थमा बुझिए पनि यिनको प्रकृति र समाधानको बाटो पूर्णतः फरक हुने उहाँको तर्क छ । हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुन्छ ।
नेपाल र भारतबीचको खुला सीमा, नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु र बस्ती विस्तार हुनु जस्ता कारणले यस्तो समस्या देखिने उहाँले उल्लेख गर्नुभयो । यस्ता समस्यालाई रणनीतिक विस्तारभन्दा पनि प्रशासनिक र स्थानीय प्रकृतिको समस्याका रूपमा बुझ्नुपर्ने र यसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने उहाँको ठम्याइ छ ।
तर, ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ लाई हमालले निकै गम्भीर र रणनीतिक विषयका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ ।’ यस प्रक्रियामा राज्यका संस्थाहरू संलग्न हुने, सडक निर्माण गरिने, सुरक्षा निकाय परिचालन गरिने र सरकारी नक्साहरू नै संशोधन गरेर औपचारिक रूपमा अधिकार लागू गरिने उहाँले बताउनुभयो ।
उहाँले यसको सबैभन्दा प्रमुख उदाहरणका रूपमा कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई प्रस्तुत गर्नुभयो । हमालले वर्तमान विश्व राजनीति र नेपालको नेतृत्वको कार्यक्षमतामाथि पनि प्रश्न उठाउनुभएको छ । आजको ‘डामाडोल र अनिश्चित’ विश्व राजनीतिक परिवेशमा देश हाँक्ने व्यक्तिमा विशेष गुणहरू हुनुपर्ने उहाँको तर्क छ ।
उहाँले लेख्नुभएको छ,‘कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’








प्रतिक्रिया