काठमाडौँ, १६ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटले केही संरचनागत तथा नीतिगत सुधारका प्रयासहरू समेटे पनि न्यून आय भएका र विपन्न वर्गका समस्यालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शनिबार आयोजित नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा नेपाली कांग्रेसले लामो समयदेखि उठाउँदै आएका केही संरचनागत सुधारका विषय समावेश हुनु सकारात्मक पक्ष भएको बताउनुभयो ।
उहाँले सकारात्मक विषयहरूको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षको हैसियतबाट कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
तर बजेट र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले गरिबी निवारणभन्दा पनि ‘गरिब मास्ने’ नियत देखिएको गम्भीर आरोप लगाउनुभयो ।
सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बन्दै गइरहेका बेला सरकार उनीहरूको समस्याप्रति उदासीन देखिएको दाबी गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा सरकारका केही निर्णयको प्रशंसा भइरहे पनि प्रतिपक्षको भूमिका सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउने रहेको उल्लेख गर्नुभयो ।
सभापति थापाले सरकारका नीति तथा कार्यक्रमले समाजका कमजोर र विपन्न वर्गको जीवनस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।








प्रतिक्रिया