विश्व थाइराइड दिवस : ह्याम्स अस्पतालद्वारा सचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौं । ह्याम्स अस्पतालले विश्व थाइराइड दिवसको अवसरमा थाइराइड स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ ।

मानव शरीरको मेटाबोलिज्म तथा समग्र स्वास्थ्य सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने थाइराइड ग्रन्थिसम्बन्धी समस्याको समयमै पहिचान, नियमित परीक्षण तथा उचित व्यवस्थापनबारे सचेतना फैलाउने उद्देश्यले अस्पतालले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रशासनिक टोलीको सहभागिता रहेको थियो । सहभागीहरूले थाइराइडसम्बन्धी रोगको प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य परीक्षणले जटिलता कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

अस्पतालका अनुसार पछिल्लो समय थाइराइडसम्बन्धी समस्या बढ्दो क्रममा रहेकाले समयमै परीक्षण र उपचारप्रति नागरिक सचेत हुन आवश्यक छ । विशेषगरी महिलामा थाइराइडको समस्या बढी देखिने भएकाले नियमित स्वास्थ्य जाँचलाई प्राथमिकता दिन अस्पतालले आग्रह गरेको छ ।

विश्व थाइराइड दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य सचेतनासँगै चिकित्सा तथा प्रशासनिक टोलीले सामूहिक सहभागिता जनाउँदै स्वस्थ जीवनशैली अपनाउन सन्देश दिएका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  २१ : १४  बजे