नेपालमै पहिलोपटक ह्याम्स अस्पतालमा ईएसडी प्रविधिबाट उपचार सेवा सुरु

काठमाडौं, १२ जेठ । ह्याम्स अस्पताल ले नेपालमै पहिलोपटक अत्याधुनिक ‘इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन’ (ईएसडी) प्रविधिबाट उपचार सेवा सुरु गरेको छ ।

अस्पतालका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट, हेपाटोलोजिस्ट तथा इन्डोस्कोपिस्ट डा. विवेक कुमार पूर्वे को नेतृत्वमा उक्त सेवा सुरु गरिएको हो ।

ईएसडी प्रविधि जठरान्त्र (जीआई) प्रणालीमा प्रारम्भिक चरणमा देखिने ट्युमर तथा ठूला पोलिपलाई बिना शल्यक्रिया एकैपटक पूर्ण रूपमा निकाल्ने आधुनिक उपचार विधि हो । यस प्रविधिबाट इसोफेगस, पेट तथा कोलोनमा देखिने अर्ली स्टेज ट्युमरको सुरक्षित उपचार सम्भव हुने चिकित्सकहरूले बताएका छन् ।

डा. पूर्वेका अनुसार नेपालमा यसअघि यस्तो सेवा उपलब्ध थिएन । चीनमा विशेष तालिम लिएपछि केही महिनाअघि अस्पतालमा ईएसडी सेवा सुरु गरिएको र हालसम्म दुई जना बिरामीमा सफल उपचार भइसकेको उहाँले जानकारी दिनुभयो । उपचारपछि दुवै बिरामी नियमित फलोअपमा रहेको पनि उहाँको भनाइ छ ।

चिकित्सकहरूका अनुसार ईएसडी प्रक्रियामा जीआई ट्र्याक्टको म्यूकोसा र सबमुकोसा तहबीच सूक्ष्म डिसेक्सन गरी ट्युमरलाई पूरै एकैपटक निकालिन्छ । यसअघि प्रयोग हुँदै आएको ‘इन्डोस्कोपिक म्युकोसल रिसेक्सन’ विधिमा ट्युमर पूर्ण रूपमा ननिस्कने र पुनः देखिने जोखिम रहने गरेको थियो ।

ईएसडी प्रविधिबाट बाहिरी चिरफार आवश्यक नपर्ने, अंग सुरक्षित राख्न सकिने, रक्तस्रावको जोखिम कम हुने, छोटो समयमै अस्पतालबाट डिस्चार्ज हुन सकिने तथा सर्जरीको तुलनामा कम खर्च लाग्ने फाइदा रहेको चिकित्सकहरूले बताएका छन् ।

डा. पूर्वेले कहिलेकाहीँ रक्तस्राव वा आन्द्रामा प्वाल पर्नेजस्ता जटिलता देखिन सक्ने भए पनि अनुभवी चिकित्सक, आधुनिक उपकरण र सक्षम इन्डोस्कोपी युनिटमार्फत तत्काल व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

विश्वभर प्रारम्भिक चरणको जीआई क्यान्सर उपचारमा ईएसडीलाई प्रभावकारी र कम जोखिमयुक्त विधिका रूपमा लिइने गरिएको छ । नेपालमा पनि भविष्यमा यसको उपयोगिता अझ बढ्दै जाने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  २० : ५२  बजे