प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने रास्वपाको भनाइ

काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामै संसदमा उपस्थित हुने बताउनुभएको छ ।

आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकोटीले सम्भवतः एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो ।प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन् ।

आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।

छलफलमा रास्वपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो ।विपक्षी दलले रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धताअनुसार रुलिङ गर्न माग गरेका छन् । एमालेले बैठकमा भएको सहमति सभामुखले कार्यान्वन नगरेको बताएको छ । विपक्षले भनाइ राखेपछि अहिले बैठक चलिरहेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  २० : १२  बजे