सरकारले ल्याएका सबै अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गर्दैनौं : गगन थापा

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको सबै अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत नहुने बताउनुभएको छ । कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै आफूहरूले नीति तथा कार्यक्रम र बजेटमा सरकारलाई अफ्ठेरो नपारेपछि सबै अध्यादेश स्वीकृत गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले अध्यादेश अस्वीकृत गर्ने कुरा राष्ट्रिय सभामा छ । हामी सबै अध्यादेश अस्वीकृत गर्नु हुँदैन भनिरहेका छौं । सहकारीसँग जोडिएको विषयको अध्यादेश छ, अरू अध्यादेशहरू छन्, यी अध्यादेशहरू अगाडि बढ्न दिनुपर्छ । संवैधानिक परिषद्सँग जोडिएको अध्यादेश र अरू बाँकी रहेका नागरिकका मौलिक अधिकारहरू खण्डित गर्ने कानुन ल्याएर ल्याएको अध्यादेशका सन्दर्भमा यसलाई रोक्नुपर्छ ।’

त्त्यस्तै उहाँले भदौ घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले थप्नुभयो,‘मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नैपर्छ। र भदौ २४ गतेका सन्दर्भमा त्यसको न्यायिक छानबिन गरेर साँच्चिकै जसले आपराधिक मनोवृत्ति राखेर २४ गते काम गरेका छन्, तिनी दोषी कानुनको कठघरामा आउनैपर्छ ।’

उहाँले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत जनतालाई देखाउनुपर्ने बताउनुभयो । सरकारले बनाएको संविधान संशोधन कार्यदलमाथि पनि प्रश्न उठाउनुभयो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १८ : ५८  बजे