काठमाडौं, ८ जेठ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा विध्वंशउपरको अध्ययन प्रतिवेदन सार्वजनिक गराउन जेनजीहरु आज फेरि राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । राष्ट्रिय जेनजी अभियानका संयोजक सुनिल सिंहको नेतृत्वमा आयोग पुगेको टोलीले आयुक्तहरुलाई ज्ञापनपत्र बुझाउँदै तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न नसकेमा पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । आयुक्त लिली थापाले आयोगले प्रतिवेदन सार्वजनिक नगरे आफैं गरिदिने बताएको अभियानका सहसंयोजक अजय सोडारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘आयुक्तले ६ सय पृष्ठको प्रतिवेदन मेरो मोबाइलमा छ, दुई–चार दिनमै सार्वजनिक नभए म आफैं गरिदिन्छु भन्नुभयो ।’
अर्का आयुक्त मनोज दुवाडीले अब पनि प्रतिवेदन सार्वजनिक नभएमा राजीनामा दिने बताउनुभयो । मानव अधिकार हननका विषयबारे आयुक्त थापा नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन चैत ६ गते अध्यक्ष तपबहादुर मगरलाई बुझाइएको थियो । अझै प्रतिवेदन सार्वजनिक नभएपछि जेन्जीहरुले आयोग घेराउ गरेका थिए ।








प्रतिक्रिया