नेपाल बारको माग: सांसद बास्कोटा र न्यौपानेको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन अनुरोध

काठमाडौं, ४ जेठ । नेपाल बार एसोसिएसनले रास्वपा सांसदद्वय समीक्षा बास्कोटा र यममणि न्यौपानेज्यूहरूको न्यायाधीशसम्बन्धी अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन सम्माननीय सभामुखज्यूसमक्ष अनुरोध गरेको छ ।

सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बारका महासचिव केदार प्रसाद कोइरालाज्यूद्वारा जारी विज्ञप्तिमा सांसदद्वयको अभिव्यक्ति हटाउन माग गरिएको जानकारी दिइएको छ ।

विज्ञप्तिमा संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दासम्बन्धी विषयमा संसदमा छलफल गर्न निषेध गरिएको प्रावधानलाई बेवास्ता गर्दै संसदमा छलफल भएकोप्रति गम्भीर आपत्ति जनाइएको छ ।

बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आवेशप्रेरित तथा दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ। यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट आदेश गरियोस् भन्ने सम्माननीय सभामुखज्यूसमक्ष अनुरोध गर्दछौं।”

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदद्वय बास्कोटा र न्यौपानेज्यूहरूले न्यायाधीशसम्बन्धी विषयलाई लिएर आपत्ति जनाउनुभएको थियो ।

यसअघि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लज्यूले संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको थियो। उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै सांसदद्वयले संसदमै आलोचनात्मक अभिव्यक्ति दिनुभएको थियो ।

संविधानको धारा १०५ अनुसार विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै बारले उक्त प्रावधानको पालना गरिनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  २० : ३२  बजे