काठमाडौं, ३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउन चुनौती थपिएको टिप्पणी गर्नुभएको छ।
सुर्खेतमा कार्यकर्ता प्रशिक्षणका क्रममा आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकार सीमित गर्ने दिशातर्फ अघि बढेको आरोप लगाउनुभयो।
उहाँले आफैंले बोलाएको संसद् भोलिपल्ट रोकेर अध्यादेश ल्याउने जस्ता अभ्यासले लोकतन्त्रको उपहास भएको दाबी गर्नुभयो।
प्रचण्डका अनुसार ट्रेड युनियन खारेजी र विद्यार्थी संगठनमाथि प्रतिबन्ध जस्ता कदमले सरकार लोकतान्त्रिक बाटोमा नरहेको संकेत गरेको बताउनुभयो।
उहाँले सरकारका गलत कामको विरोध र राम्रा कामको समर्थन गर्ने नीति आफ्नो पार्टीले लिएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि निरन्तर खबरदारी गरिने स्पष्ट पार्नुभयो।
प्रदेश सरकार पुनर्गठनबारे कांग्रेस र एमालेबाट प्रस्ताव आएको भए पनि आफ्नो पार्टी अहिले त्यसको पक्षमा नरहेको उहाँले जानकारी दिनुभयो।








प्रतिक्रिया