काठमाडौं, ३ जेठ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भदौ २३–२४ का घटनाहरूलाई दासढुंगा घटनाकै निरन्तरता भएको बताउनुभएको छ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले दासढुंगा घटना अझै रहस्यमय रहेको उल्लेख गर्दै त्यसलाई सामान्य सडक दुर्घटना नभई गम्भीर राजनीतिक षड्यन्त्रका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले इतिहासमा जब कुनै दल, नेता वा नेतृत्वलाई चुनौतीका रूपमा लिइन्छ, त्यतिबेला विभिन्न शक्तिहरूले षड्यन्त्रपूर्ण गतिविधि गर्ने गरेको बताउनुभयो।
बादलले कोतपर्वदेखि दरबार हत्याकाण्डसम्मका घटनाको उदाहरण दिँदै पछिल्ला राजनीतिक घटनाक्रमलाई पनि त्यही शृङ्खलासँग जोडेर हेर्नुपर्ने बताउनुभयो।
उहाँले भदौ २३–२४ का घटनामा पार्टी कार्यालय तथा नेताहरूका निजी निवासमा भएको आगजनी, सरकारविरुद्धका गतिविधि र विभिन्न राजनीतिक कदमहरूलाई समेत दासढुंगा घटनाकै निरन्तरता रूपमा व्याख्या गर्नुभयो।
कार्यक्रममा उहाँले नेकपा एमाले र नेतृत्वमाथि भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता भ्रम चिर्न पार्टीका कार्यकर्ता तथा नेताहरू दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो।








प्रतिक्रिया