काठमाडौं, २ जेठ । राष्ट्रिय जेनजी–नागरिक अभियान ले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार जनताप्रति क्रुर र निरंकुश बन्दै गएको आरोप लगाएको छ। अभियानले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनीसमेत दिएको छ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंह ले सरकारले राष्ट्रिय स्वाधीनताका मुद्दामा मौनता अपनाएको तर जनतामाथि कठोर व्यवहार गरिरहेको आरोप लगाउनुभयो।
“लिपुलेकजस्ता राष्ट्रिय मुद्दामा सरकार मौन छ, तर जनतामाथि निरंकुश शैलीमा प्रस्तुत भइरहेको छ,” उहाँले भन्नुभयो।
अभियानका सह–संयोजक अजय सोडारी ले संसद् भवन र सिंहदरबारमा भएका घटनामा राज्य मौन बसेको तर सुकुम्बासी बस्तीमा डोजर चलाउन सक्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
उहाँले वर्तमान सरकारमा “जोस बढी र होस कम” भएको टिप्पणी गर्दै विधिको शासन र कानुनी राज्यको उपहास भइरहेको आरोपसमेत लगाउनुभयो।
अभियानका प्रवक्ता विर्जन विश्वकर्मा ले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार पीडितलाई न्याय दिन सरकार असफल भएको दाबी गर्नुभयो। उहाँले राष्ट्रिय मानवअधिकार आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो।
अभियानका सचिव प्रकाश बम ले प्रधानन्यायाधीश, न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा योग्यता र प्रतिस्पर्धाको आधारलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो।
यस्तै, अभियानका सुनिल विक ले भारतले कालापानी र लिपुलेक क्षेत्रबाट सेना नहटाए राष्ट्रिय मुक्तिको आन्दोलन आवश्यक पर्ने धारणा राख्नुभयो।
अभियानका सुशील बुढाथोकी ले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय र गैरकानुनी भएको टिप्पणी गर्नुभयो भने जनम सिंह ले सरकारको कूटनीतिक अपरिपक्वताका कारण राष्ट्रियता संकटमा परेको आरोप लगाउनुभयो।








प्रतिक्रिया