गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं, १ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै केही खाद्य उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले यशोधा फुड्स प्रालि द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ बजारबाट फिर्ता गर्न आदेश दिएको हो।

विभागका अनुसार परीक्षणका क्रममा दुवै उत्पादनमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ नपाइएको पाइएपछि कारबाही गरिएको हो।

यस्तै, एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ पनि गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ।

विभागले उपभोक्तालाई यस्ता उत्पादन खरिद तथा उपभोग नगर्न आग्रह गर्दै सम्बन्धित उद्योगलाई तत्काल बजारबाट उत्पादन फिर्ता गर्न निर्देशन दिएको जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  ०७ : २१  बजे