प्रधानमन्त्री नआएसम्म संसद् अवरुद्ध गर्ने एमालेको चेतावनी

काठमाडौं, ३० वैशाख । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने माग गर्नुभएको छ ।सरकारको नीति तथा कार्यक्रम १ वर्षको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै उपनेता अर्यालले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्रीको व्यस्तताका कारण अर्थमन्त्रीलाई ‘वारेस’ तोकिएको विषयमा आपत्ति जनाउँदै उहाँले प्रधानमन्त्री काठमाण्डौमै उपलब्ध रहेको र अन्य कार्यमा सक्रिय रहेको अवस्थामा संसद्लाई समय नदिनु गैरजिम्मेवारीपन भएको तर्क गर्नुभयो ।

एमालेले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसद्को कारबाही अघि बढ्न नदिने अडान लिएको छ । उपनेता अर्यालले प्रधानमन्त्रीले संसद्प्रतिको उत्तरदायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै उहाँलाई आफ्नो जिम्मेवारीबोध गराउन पनि एमालेले यो कदम चाल्नुपरेको उल्लेख गर्नुभयो ।

अङ्कगणित र बहुमतको बलमा सदन चलाउन सकिने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा अर्यालले प्रतिपक्षले नचाहेसम्म संसद् चल्न नसक्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  २० : ३४  बजे