प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न काँग्रेसको माग

काठमाडौं, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको संसद्मा देखिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै उहाँको स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री शाह संसद् बैठकको बीचमै बाहिरिएको घटनालाई कांग्रेसले ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ भनेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको व्यवहारले संसद्को गरिमा र इज्जतमा आँच पुगेको आरोप लगाउनुभयो।

उहाँले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै बैठक छाडेर हिँड्नु विश्व संसदीय अभ्यासमै असामान्य भएको टिप्पणी गर्दै यस घटनालाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’मा समेत उल्लेख हुने विषय भएको बताउनुभयो।

नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग पनि जोड्दै संसद्लाई आधिकारिक जानकारी दिन माग गर्नुभयो।

“प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्ब स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उहाँको स्वास्थ्यप्रति हामी पनि चिन्तित छौँ।”

उहाँले प्रधानमन्त्रीको व्यवहारलाई ‘अहङ्कारपूर्ण’ भन्दै त्यसले जनताको मन कुडिएको र देशको शिर झुकेको टिप्पणी गर्नुभयो।

त्यस्तै, उहाँले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै सदनलाई मर्यादित राख्ने जिम्मेवारी हुँदाहुँदै प्रधानमन्त्री बाहिरिँदा मौन बस्नु आश्चर्यजनक भएको बताउनुभयो।

यो घटनाले संसद्को गरिमामा गम्भीर प्रश्न उठाएको कांग्रेसको भनाइ छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार  १५ : ५९  बजे