हुम्लाको चुवाखोलामा निर्मित बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभएको छ । योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
अब देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।गएको वर्षको चैत अन्तिम हप्ता नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको २ सय ८६ किलोमिटर ट्र्याक खोलेपछि सिमकोटसम्म गाडी चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको थिएन ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।केही दिनअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने दशकौं पुरानो सपना पूरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी देश चीनसँग जोडिने उल्लेख गर्नुभएको थियो ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार  १९ : ०६  बजे