बुटवल, २४ वैशाख । सरकारद्वारा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने अभियान तीव्र बनाइएपछि रुपन्देहीसहित विभिन्न क्षेत्रका भूमिहीन तथा सुकुम्बासी आन्दोलित बनेका छन्। बुटवलमा आयोजित प्रदर्शनमा सहभागीहरूले जबर्जस्ती बस्तीमा डोजर चलाइए देशव्यापी प्रतिरोधमा उत्रिने चेतावनी दिएका हुन्।
आन्दोलनकारीहरूले आफूहरू दशकौँदेखि बसोबास गर्दै आएको स्थानबाट वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिएको भन्दै सरकारको कदम अन्यायपूर्ण भएको बताएका छन्। प्रदर्शनका क्रममा विभिन्न नाराबाजी गर्दै उनीहरूले भूमिहीन नागरिकलाई विस्थापित गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए।
प्रदर्शनमा बोल्दै नेकपा माओवादी निकट युवा नेता वीरेन्द्र विक ले राज्यले नागरिकबाट कर लिने, मतदान गराउने तर बसोबासलाई अवैध ठहर गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो। उहाँले “यदि हामी बसेको जमिन अवैध हो भने हामीले दिएको मतबाट बनेको सरकार कसरी वैध हुन्छ?” भन्दै सरकारको नीतिमाथि प्रश्न उठाउनुभयो।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीका संयोजक खड्गबहादुर पौडेल ले कुनै पनि बस्तीमा बल प्रयोग गरी डोजर चलाइए देशभरका सुकुम्बासीहरू एकजुट भएर आन्दोलन चर्काउने चेतावनी दिनुभयो। उहाँले आवश्यक परे जनप्रतिनिधिहरूको घर घेराउ गर्ने र आन्दोलनलाई थप सशक्त बनाइने बताउनुभयो।
आन्दोलनकारीहरूले रुपन्देहीमा मात्रै ७९ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको दाबी गर्दै आफूहरू लामो समयदेखि राज्यलाई कर तिर्दै आएको उल्लेख गरे। विद्युत्, खानेपानी तथा अन्य सेवा शुल्क नियमित रूपमा बुझाउँदै आएको भन्दै उनीहरूले लालपुर्जा प्राप्त गर्नु आफ्नो अधिकार भएको जिकिर गरेका छन्।
प्रदर्शनकारीहरूले निर्वाचनका बेला राजनीतिक दलहरूले सुकुम्बासीलाई आश्वासन दिने तर सरकारमा पुगेपछि बस्ती हटाउने नीति अपनाएको आरोप समेत लगाए। उनीहरूले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति, पुनःस्थापना योजना र भूमिको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
पछिल्लो समय काठमाडौंसहित देशका विभिन्न स्थानमा नदी किनार र सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने सरकारी अभियानपछि सुकुम्बासी आन्दोलन थप चर्किंदै गएको छ। सरकारले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी योजना कार्यान्वयनका लागि अभियान आवश्यक भएको दाबी गर्दै आएको छ।








प्रतिक्रिया