काठमाडौं, २४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजश्व छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लगाउँदै ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको जनाएको छ। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ।
मुद्दामा तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको छ।
त्यसैगरी उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालमाथि पनि भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाइएको छ। अख्तियारले चिनियाँ निर्माण कम्पनीसँग सम्बन्धित पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाएको जनाएको छ।
अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा गरिएको आर्थिक निर्णय, कर छुट र ठेक्का कार्यान्वयन प्रक्रियामा अनियमितता भएको प्रारम्भिक निष्कर्षपछि विस्तृत अनुसन्धान गरिएको थियो। सोही अनुसन्धानका आधारमा अहिलेको मुद्दा दायर गरिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना पछिल्लो समय लागत वृद्धि, ऋण व्यवस्थापन, निर्माण गुणस्तर तथा सञ्चालन प्रभावकारितालगायत विषयमा निरन्तर विवादमा पर्दै आएको छ। यसअघि पनि यही परियोजनासँग सम्बन्धित विभिन्न भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्।
अख्तियारले गत मंसिर र चैत महिनामा पनि पोखरा विमानस्थलसँग सम्बन्धित छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आजको मुद्दा सोही प्रकरणअन्तर्गतको तेस्रो ठूलो मुद्दा मानिएको छ।








प्रतिक्रिया