संवैधानिक आयोग कब्जा गर्न अध्यादेश ल्याइएको कांग्रेसको आरोप, सशक्त प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक आयोगहरूमा आफ्ना नजिकका व्यक्तिहरू नियुक्ति गर्न उद्देश्य राखेर अध्यादेश ल्याएको आरोप लगाएको छ। पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको उक्त कदमप्रति गम्भीर आपत्ति जनाउनुभएको हो।

माननीय आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका स्वायत्त निकायहरूलाई नियन्त्रण गर्ने प्रयास भएको उल्लेख गर्दै यसले संवैधानिक सन्तुलन र शक्ति पृथकीकरणको मर्मलाई कमजोर बनाउने बताउनुभयो। उहाँले अध्यादेश जारी भइसकेपछि मात्रै संसद अधिवेशन आह्वान गर्नुले सरकारको नियतप्रति थप शंका उत्पन्न गरेको धारणा राख्नुभयो।

“संवैधानिक निकायहरूलाई स्वतन्त्र राख्नुपर्ने अवस्थामा अध्यादेशमार्फत हस्तक्षेप गर्नु गलत अभ्यास हो,” उहाँले भन्नुभयो, “यसविरुद्ध हामी अन्य विपक्षी दलसँग सहकार्य गरेर सदनमा सशक्त आवाज उठाउनेछौँ।”

कांग्रेसले पछिल्लो समय सुकुम्बासी बस्तीमा गरिएको डोजर अभियानप्रति पनि असहमति जनाएको छ। वैकल्पिक व्यवस्थाविना गरिएको बस्ती हटाउने कार्यलाई अमानवीय भएको उल्लेख गर्दै आङ्देम्बेले सरकारको शैलीलाई “राज्य आतंकजस्तै” भएको टिप्पणी गर्नुभयो।

उहाँले सरकारका पछिल्ला क्रियाकलापले मुलुक सही दिशातर्फ अग्रसर भएको अनुभूति नदिएको पनि उल्लेख गर्नुभयो। बैठकमा पार्टीका आन्तरिक विषयहरू, अघिल्ला निर्णयहरूको समीक्षा तथा आगामी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।

कांग्रेसले अध्यादेश प्रकरणलाई राजनीतिक तथा संवैधानिक मुद्दाका रूपमा उठाउँदै आगामी दिनमा संसद र सडक दुवैबाट प्रतिरोध गर्ने संकेत दिएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  २० : ४७  बजे