काठमाडौं, २० वैशाख । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पत्ररकाहरुको छाता संस्था नेपाल पत्रकार महासंघले अन्तर्क्रिया, प्रदर्शन लगायतका कार्यक्रम आयोजना गरेको छ ।दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै त्यस्तो कामना गर्नुभएको हो । हरेक वर्ष मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ । “हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्बाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनु पर्छ,” सन्देशमा उल्लेख छ ।
यसैबिच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकार मात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय सञ्चार माध्यमहरू मुद्रित र प्रसारणमा मात्र सीमित नरही सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तीव्र भएको बताउनुभयो । एल्गोरिदमको प्रभावका कारण सत्य समाचार ओझेलमा पर्ने र भ्रामक सामग्री अगाडि आउने चुनौती पनि थपिएको उहाँको भनाइ छ ।








प्रतिक्रिया