काठमाडौं, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गर्नुभयो ।
नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गर्नुभएको छ ।
‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो,‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबिचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ ।’
अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति, रोजगारदाता र श्रमिक बिच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गर्नुभयो ।
‘हाम्रो ध्येय थियो उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होउन्, नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस्’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ । संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि विचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।








प्रतिक्रिया