संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ–प्रचण्ड

काठमाडौं, १७ वैशाख । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै उक्त प्रक्रिया लोकतन्त्रविरुद्ध रहेको बताउनुभएको छ।

रुकुम पश्चिमको मुसिकोट मा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उहाँले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत कानुन ल्याउनु संवैधानिक अभ्यास, लोकतान्त्रिक मूल्य र स्थापित परम्पराको ठाडो उल्लंघन भएको उल्लेख गर्नुभयो। यस्तो कार्य दोहोरिए लोकतान्त्रिक प्रणाली कमजोर हुने भन्दै उहाँले सरकारलाई सचेत गराउनुभयो।

उहाँले भन्नुभयो, “संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्ति लोकतन्त्रको मर्मविपरीत छ, यस्तो गल्ती दोहोरिनु हुँदैन।” साथै, ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयासलाई उहाँले निरंकुशतातर्फको संकेतका रूपमा व्याख्या गर्नुभयो।

सुकुम्बासी बस्ती हटाउने विषयमा प्रतिक्रिया दिँदै उहाँले वास्तविक पहिचान र वैकल्पिक व्यवस्थापनबिना बल प्रयोग गरेर डोजर चलाउनु गलत भएको बताउनुभयो। “गरिब र निमुखा जनतामाथि अन्याय हुने गरी गरिएको यस्तो कार्य उचित होइन,” उहाँले भन्नुभयो।

हालै सम्पन्न आमनिर्वाचनप्रति समेत उहाँले प्रश्न उठाउँदै परिणामहरू स्वाभाविक नभएको टिप्पणी गर्नुभयो। विभिन्न स्थानबाट आएका विवरणले शंका उत्पन्न गरेको उल्लेख गर्दै उहाँले निर्वाचन प्रक्रियामाथि गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

यसैबीच, पार्टीका आगामी कार्यक्रमबारे जानकारी दिँदै उहाँले नेकपाले अब एकताका बाँकी काम टुंग्याउँदै महाधिवेशनको तयारी गरिरहेको र मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ११ : ०३  बजे